–अपार न्यौपाने
भूमिका
नेपालमा विद्युत भन्दा प्राय जलविद्युत मात्रै बुझिन्छ र जलविद्युतको मात्रै कुरा हुन्छ । हामीले दशकौ देखि सुन्दै आएको “नेपालमा जलविद्युतको अपार सम्भावना छ, नेपाल जलविद्युतमा ब्राजिलपछि दोश्रो धनी राष्ट्र हो।” आदि । यी कति सत्य र कति तथ्यमा आधारित छन, त्यता नलागौ । तर, के चाँही सत्य हो भने नेपालको प्रति व्यक्ति जलविद्युत उत्पादन क्षमता उच्च छ । संभाव्यताको तुलनामा उत्पादन तथा उपयोग न्युन छ । जलविद्युत मात्र होइन, सौर्य उर्जा (विद्युत) लगायत अन्य नवीकरणीय उर्जा को सन्दर्भमा पनि संभाव्यताको तुलनामा उत्पादन तथा उपयोग न्युन छ । फलत, हाम्रो उर्जा प्रणाली (ग्रीड) सानो छ, प्रतिव्यक्ति उर्जा खपत न्यून छ । प्रतिव्यक्ति उर्जा खपत न्यून हुनुले देशमा न्यून औधोगिकरणको अवस्था र न्यून आर्थिक गतिविधिको अवस्था लाई पनि जनाउछ ।
विद्युत कुनैपनि औगोगिक उत्पादन, प्रशोधन, भण्डारण आदि प्रक्रियाका लागि अपरिहार्य हुन्छ । ढुवानी र यातायातको लागि पनि विद्युतको प्रयोग बढ्दो क्रममा छ । औगोगिक र व्यापारिक गतिविधिका लागि मात्र नभएर घरायसी कामका लागि विद्युत नभै हुदैन । त्यसैले विद्युत समग्र अर्थतन्त्रको एक महत्वपूर्ण कडी हो, मेरुदण्ड हो । उच्च विद्युत खपत संबृद्धीको परिसुचक पनि हो । नेपालको प्रतिव्यक्ति विद्युत खपत अत्यन्त न्युन छ, जसले हाम्रो आर्थिक पछ्यौटेपन दर्शाउछ ।
नेपालको उर्जा आपुर्ती एवम् मागको अवस्था
नेपालको विद्युत उत्पादन जडित क्षमता करिव ३३०० मेघावाट छ, जुन निरन्तर बढीरहेको छ । जडित क्षमता करिव दुई–तिहाई नीजि क्षेत्रका आयोजनाहरु छन । करिव १०० मेघावाट सौर्य उर्जा छ भने बाँकी जलविद्युत । नीजि क्षेत्रका सवै जलविद्युत आयोजनाहरु नदी प्रवाही छन, अर्थात पानी संञ्चित गर्न मिल्दैनन, उत्पादन भएको विद्युत खपत नभए खेर जान्छ । बर्खा याममा उत्पादन ३००० मेघावाट भन्दा बढी पनि हुन्छ, तर माग मुस्किलले २००० मेघावाट हुन्छ । अझ रातिको समयमा माग निकै कम छ, फलत विद्युत खपत नभए खेर जान्छ । हिउँदमा भने उत्पादन १००० मेघावाटसम्म पनि झर्छ र माग २००० मेघावाटसम्म पुग्छ, फलत उत्पादनले माग धान्दैन । विद्युतको जडित क्षमता तिब्र रुपमा बढीरहेको छ, तर मागको बृद्धिदर बार्षिक करिव दश प्रतिशत मात्र छ ।
समस्या कहाँ छ ?
हामीले भोगकै छ पोखरा तिर विद्युत खेर जाँदा बिराटनगर तिर लोडसेडिङ भएको । त्यस्तै, राति विद्युत खेर जाँदा बेलुका माग धान्दैन । हिउँदमा चरम विद्युत संकट हुँदा वर्खामा विद्युत खेर जाने सदावाहर समस्या त छदैछ, जुन अझै धेरै वर्षसम्म रहिरहने छ । विद्युत आपुर्ती प्रणाली जलविद्युत, अझ खासगरी नदी प्रवाही जलविद्युत आयोजनाहरुमा भर परेको भएर विद्युत आपुर्ती पनि खहरे प्रकृति कै छ । खहरे रोक्ने उपाय हामीले सोच्यौ, भाषण गर्याै तर कार्यान्वयन गरेनौ । अर्कोतर्फ हामीले जलविद्युत भन्दा अन्य उर्जामा श्रोत पनि चाहिन्छन भन्ने विचारलाई सकेसम्म निषेध गर्याै ।
अझै ठूला प्राकृतिक विपक्ती आईपरे हामीले भोग्नुपर्ने उर्जा संकट अकल्पनीय हुनेछ, जुन हामीले २०८१ असोजमा पूर्वी तथा मध्य नेपालमा आएको बाढी पहिरोको बेला पनि अनुभव ग । जलविद्युत आयोजनाहरुमा पनि चाहिने जलाशययुक्त, तर बने नदी प्रवाही । जलाशययुक्त परयोजनाहरु जटिल एवम विशेष प्रकृतिका हुने हुँदा राज्यले नै नेतृत्व लिएर बनाउनुपर्ने हुन्छ । त्यसैगरी आवश्यक प्रशारण लाइनको अभावमा उत्पादित विद्युत माग हुने क्षेत्रमा पुग्दैन ।
मागको बृद्धिदरको तुलनामा नदी प्रवाही जलविद्युतको जडित क्षमता तिब्र रुपमा बढीरहेको छ । त्यसैले यथास्थितिमा आगामी दिनमा माग र आपुर्तीको असन्तुलन अझ बढ्नेछ । बर्षायामको अतिरिक्त उर्जाको उचित व्यवस्थापन गर्न नसके राष्ट्रको समग्र अर्थतन्त्रमा उल्लेख्य नकरात्मक असर गर्नेछ ।
अव के गर्ने ?
उर्जा प्रणालीको उचित व्यवस्थापन गर्न सर्वप्रथम उर्जाको माग र आपुर्तीको प्रकृति विश्लेषण अपरिहार्य हुन्छ । माग र आपुर्तीको प्रकृति अनुसार मागको प्रकृति र आपुर्तीका श्रोतहरु विविधिकरण गर्नु उर्जा प्रणाली व्यवस्थापनको पहिलो खुडकिलो हो । जसरी लगानीमा जोखिम कम गर्न लगानी विविधिकरण गरिन्छ त्यसैगरी उर्जा प्रणाली व्यवस्थापनका लागि उर्जाका श्रोतहरु विविधिकरण र विकेन्द्रीकरण गनुपर्ने हुन्छ । विकेन्द्रीकृत एवम विविधिकृत उर्जाका श्रोतहरुको समिश्रण अहिलेको प्राथमिक आवश्यकता हो ।
त्यस्तै मागको उचित व्यवस्थापन शुरु गर्न अपरिहार्य भैसकेको छ । उर्जा आपुर्तीको प्रकृति अनुसार मागलाई चलायमान बनाउन हाल औद्योगिक ग्राहकमा मात्र लागु गरिएको दैनिक समय अनुसार फरक गरिएको विद्युत मुल्यलाई क्रमश ठूला ग्राहक हुदै साना ग्राहकसम्म लागू गनुपर्छ । त्यसैगरी, जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौतामा मात्र सीमित विद्युतको मौसमी मुल्य औद्योगिक ग्राहकबाट शुरु गरी ठूला ग्राहक हुदै साना ग्राहकसम्म लागू गनुपर्छ ।
उर्जाको माग र आपुर्तीको बिच सन्तुलन ल्याउन नेपालले ढिलो–चाँडो हरित हाइड्रोजनमा जानैपर्ने हुन्छ । यसो गरे विद्युत उत्पादन बढी भएर खेर जाने समयमा हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ । हरित हाइड्रोजन व्यापारिक रुपमा उत्पादन र प्रयोग गर्न केही समय लाग्छ, अहिलेकै अवस्थामा व्यापारिक रुपमा उत्पादन सम्भव छैन, उपयोग गर्ने संयन्त्र छैनन । तर, आगामी एक–दुई वर्षमा हरित हाइड्रोजनको क्षेत्रमा उल्लेख्य उपलव्धि अपेक्षित छन । हरित हाइड्रोजन बाहेक रासायनिक मलको उत्पादन गरी उत्पादन बढी भएर खेर जाने विद्युतलाई प्रयोग गर्न सकिन्छ, जुन व्यापारिक रुपमा संभाव्य हुन विद्युतको मुल्य कम हुनुपर्छ ।
विद्युत आपुर्ती भरपर्दो भए र समग्र रुपमा औधोगिक वातावरण सुध्रिए नयाँ उद्योग धन्दा पनि खुलेर आन्तरिक खपत बढी समग्र आर्थिक उन्नतीलाई टेवा दिनेछ । तर उद्योगहरुलाई हिउँदमा पनि विद्युत चाहिन्छ । हिउँद र वर्खाको आपुर्ती र मागको भिन्नताको सकस भारतले क्षेत्रीय विद्युत व्यापारलाई राजनैतिक एवम् प्रशासनिक अंकुस लगाइरहे अनन्तकालसम्म रहिरहनेछ । त्यसैले प्राविधिक एवम आर्थिक रुपमा सम्भव भएसम्म उर्जाको माग र प्रयोग आन्तरिक रुपमै गर्नु राष्ट्रको हितमा हुन्छ, जसले उत्पादन, रोजगारी र निर्यात बढाउन सरयोग गर्छ र आयात घटाउछ, आर्थिक बृद्धिदर बढाउछ ।
नेपालले सीमापार विद्युत व्यापार पनि नियमित र नियन्त्रित रुपमा गरिरहेकोछ । नेपालको विद्युत उत्पादन र मागको प्रकृति अनुसार सीमापार विद्युत व्यापार अहिलेको अवस्थामा अपरिहार्य छ । तर, हरित हाइड्रोजन र विद्युत भण्डारणको क्षेत्रमा चमत्कारिक विकास भए आगामी दिनमा सीमापार विद्युत व्यापारको आवश्यकता पनि कम हुनसक्ला, यद्यपी, सीमापार विद्युत व्यापार पूर्णरुपमा रोक्न भने असम्भव छ ।
(लेखक उर्जा र बैदेशिक लगानीको क्षेत्रमा क्रियाशील छन । उनी सिम्पल इनर्जीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।)








Discussion about this post