काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० रूपैयाँको ४२ करोड वटा नोट छाप्न बोलकबोल आवहान गरेको छ । हालै नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले ५० र हजारको नोट छाप्ने पहिलो निर्णय गरेका थिए ।
बोलकबोलको शुल्क १ सय ४६ डलर (२० हजार रूपैयाँ) र बोलकबोलको धितोको रूपमा ४ करोड राख्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । विशेष गरेर पाँच सय र एक हजारभन्दा माथिका एउटा नोटको आयु चारदेखि पाँच वर्षको हुन्छ ।
साना नोटको आयु भने करिब तीन वर्षको हुन्छ । नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ ।
पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए ।
छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्नेछन् । यो अवधिमा जुन जुन नोट छाप्नुपर्ने हुन्छ त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ ।
छपाइको बोलकबोल प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्ने गर्दछ ।









Discussion about this post