काठमाडौं । नेपाल वायुसेवा निगमको बिक्रि आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा निगमको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ ।
निगमले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ४ लाख ३४ हजार ६१४ यात्रुलाई सेवा दिएर निगमले ११ अर्ब ३० करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको भएको छ । यो आम्दानी जहाजको टिकट बिक्रीबाट मात्र भएको हो । गत वर्षको यही अवधिमा निगमले १० अर्ब १० करोड ४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष यात्रुको सङ्ख्या २३ प्रतिशत अर्थात् ८१ हजारले बढेको छ । गत वर्ष ८ महिनामा ३ लाख ५३ हजार ६०१ यात्रुले सेवा लिएका थिए । निगमका अनुसार यस वर्ष जहाजहरू नियमित उडानमा रहेको र ठुलो मर्मत (सी–चेक) को तालिका नपरेका कारण आम्दानी र यात्रु सङ्ख्या दुवैमा सुधार आएको हो ।
निगमका लागि सबैभन्दा बढी आम्दानी हुने गन्तव्य जापान बनेको छ । जापान सेक्टरबाट मात्रै निगमले ३ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ । जहाँ ४७ हजार यात्रुले यात्रा गरेका थिए । यस्तै, दोस्रो धेरै आम्दानी हुनेमा दुबई सेक्टर छ । जहाँबाट १ अर्ब ६९ करोड रुपैयाँ सङ्कलन भएको छ ।
यात्रु सङ्ख्याका हिसाबले भने भारतको दिल्ली सेक्टर पहिलो स्थानमा ट । दिल्ली उडानमा ९५ हजार ८६० यात्रुले सेवा लिएका छन् । अन्य गन्तव्यहरूमा साउदी अरबको दमामबाट ४३ करोड र चीनको ग्वाङ्झाउबाट १४ करोड ४० लाख रुपैयाँ आम्दानी भएको छ ।
अन्तर्राष्ट्रिय उडानमा उत्साहजनक नतिजा देखिए पनि आन्तरिक उडानको अवस्था भने कमजोर देखिएको छ । पछिल्लो ८ महिनामा निगमले आन्तरिक उडानमार्फत १६ हजार यात्रुलाई सेवा दिई जम्मा ७ करोड १३ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।









Discussion about this post