काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन गर्दै विभागको समग्र कार्यप्रणाली, राजस्व सङ्कलनको अवस्था र आगामी लक्ष्यबारे जानकारी लिएका छन् ।
अनुगमनका क्रममा उनले कर्मचारीलाई इमानदारीपूर्वक काम गर्दै राजस्व लक्ष्य हासिल गर्न निर्देशन दिएका हुन् ।
मन्त्री वाग्लेले राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउने पनि उल्लेख गरे ।
“राजस्व सङ्कलनमा इमानदारी र प्रतिबद्धता देखिए मन्त्रालयले आवश्यक प्रोत्साहनको व्यवस्था गर्न सक्छ,” मन्त्री वाग्लेले भने ।
उनले राजस्व सङ्कलन वृद्धि गरी सरकारको बृहत् समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए । यसमा प्रधानमन्त्री वालेन्द्र शाहको समेत विशेष चासो रहेको उल्लेख गर्दै उनले मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन भइरहेको जानकारी दिए ।
यसै क्रममा मन्त्री वाग्लेले विभागअन्तर्गत रहेको भन्सार प्रयोगशालाको पनि निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले प्रयोगशालाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारिता बढाउन आवश्यक निर्देशन दिएको सचिवालयले जनाएको छ ।








Discussion about this post