काठमाण्डौ । एक साता नबित्दै अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले शनिबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।
एक्सएल अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ पुगेको नेपाल लेयर्स कुखुरापालक संघको भनाई छ ।
संघका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ४० रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।
यसअघि संघले ७ मंसिरदेखि लागु हुने गरी एक्सएल अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको ५ सय ५ र मिडियम अन्डाको ४ सय ९० रुपैयाँ तोकेको थियो ।
नेपाली अन्डाको बजार मूल्यमा हाल देखिएको वृद्धिले किसानहरू उत्पादन लागतमात्र उठाउन सक्ने अवस्थामा पुगेको संघको भनाइ छ । भारतीय अन्डा आयातमा कमी र आन्तरिक खपतमा वृद्धिका कारण किसानले राहत महसुस गरेको संघले बतायो ।
उत्पादनमा कमी, भारतीय अन्डाको मूल्यवृद्धि, खपतमा वृद्धि, विद्यालय र कलेजहरू खुल्नु र जाडो याममा अन्डा उपभोग बढ्नु पनि यसको मुख्य कारण हो । अन्डाको मूल्य अझै बढ्ने सम्भावना रहेको संघले बताएको छ ।
पहिले नेपाली अन्डाभन्दा भारतीय अन्डा सस्तो भए पनि अहिले भारतीय अन्डा महँगो भएकाले आयात भएको छैन । जाडो महिनामा अन्डा खपत बढ्ने भएकाले पनि बजारमा माग सिर्जना भएको संघको भनाइ छ ।
हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने अनुमान गरिएको छ ।








Discussion about this post