काठमाण्डौ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । आज जेठ ११ गते दिउँसो ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले उक्त रकम संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार यो २१ दिने निक्षेप संकलन हुनेछ, जसको साँवा र ब्याज असार १ गते भुक्तानी गरिनेछ । तरलता व्यवस्थापन गर्न निरन्तर रूपमा सक्रिय राष्ट्र बैंकले यसअघि पनि यस्तै प्रक्रियाबाट रकम संकलन गरिरहेको थियो ।
निक्षेप संकलनको लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नेछन्। ती संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणामा बोलकबोल गर्न पाउनेछन् । बोलकबोल बहुब्याजदर प्रणालीमा हुनेछ ।
हाल कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता अत्यधिक रहेको र बैंकहरू झिनो ३ प्रतिशत हाराहारीको ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले आफ्नो मौद्रिक उपकरण प्रयोग गर्दै तरलता सन्तुलनमा राख्न खोजेको हो ।









Discussion about this post