काठमाडौं । वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) औसतमा १.३४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक विवरणअनुसार पुस मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको औसतमा कुल निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत छ । तर, खुद निष्क्रिय कर्जा अनुपात भने १.३४ प्रतिशतमा मात्रै सीमित छ ।
यो गत असार मसान्क तुलनामा बढी हो । गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको औसत नेट एनपीएल १।०५ प्रतिशत थियो । गत आवको पुस मसान्तसम्मको तुलनामा भने कम हो । गत आवको पुस मसान्तमा बैँकहरूको नेट एनपीएल १.५८ प्रतिशत थियो ।
गत आवको असोज मसान्तसम्म १.४८ प्रतिशत, पुस मसान्तसम्म १.५८ प्रतिशत र चैत मसान्तसम्म १.६६ प्रतिशतको अनुपातमा नेट एनपीएल थियो । गत असार मसान्त आउँदा त्यो १.०५ प्रतिशतमा सीमित भएको थियो । त्यसपछि असोज मसान्तसम्म आउँदा १.३१ प्रतिशत पुगेको नेट एनपीएल पुस मसान्तसम्म आउँदा सामान्य दरमा बढेर १.३४ प्रतिशत पुगेको हो ।
बैंकहरुले निष्क्रिय कर्जा बापत तोकिएको सीमामा कर्जा नोक्सानी व्यवस्था अर्थात् प्रोभिजन राख्ने गर्छन् । त्यसरी प्रोभिजन राखिएको रकमलाई हटाएर नेट एनपीएल निकालिएको हो । प्रोभिजन राखिएको कर्जा डुबेमा वा असुल नभएमा बैंकहरूको वित्तीय अवस्था थप प्रभावित हुँदैन । त्यसलाई प्रोभिजनले सुरक्षा प्रदान गरिसकेको हुन्छ । त्यसलाई समायोजन गरेर नेट एनपीएल निकालिएको हो । यस अन्तरगतका कर्जा असुल नभएमा बैंकहरु थप प्रभावित हुन सक्नेछन् ।
पछिल्लो समय एनपीएललाई देखाएर बैंकहरूलाई लक्षित गरेर विभिन्न टिप्पणी गरेका छन् । त्यसपछि राष्ट्र बैंकले दुई बर्षदेखि खुद निष्क्रिय कर्जा अनुपात गणना गर्दै आएको छ । यसले बैंकहरूको कर्जामा रहेको वास्तविक जोखिम देखाउन सहयोग पुग्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
पछिल्लो समय देखिएको आर्थिक शिथिलता, जेनजी आन्दोलन लगायतका कारण बैंकहरूको कर्जा असुली प्रभावित भइरहेको छ । त्यसले गर्दा बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात बढ्दै गएको छ ।
निष्क्रिय कर्जा अनुपात र खुद निष्क्रिय कर्जा अनुपात जति कम हुन्छ, त्यति नै राम्रो मानिन्छ । तथ्यांक अनुसार सबैभन्दा कम खुद निष्क्रिय कर्जा एभरेष्ट बैंकको छ । उक्त बैंकको खुद निष्क्रिय कर्जा ०.२५ प्रतिशत मात्रै छ ।
दोस्रो नम्बरमा नेपाल एसबीआई बैंक रहेको छ, उक्त बैंकमा ०.३२ प्रतिशत खुद निष्क्रिय कर्जा छ । तेस्रो स्थानमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ०.३७ प्रतिशत खुद निष्क्रिय कर्जा छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात भने प्रभु बैंकमा छ । उक्त बैंकको खुद निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत छ । अन्य बैंकको तुलनामा प्रभु बैंकले प्रवाह गरेको कर्जामा धेरै जोखिम भएको देखिन्छ ।








Discussion about this post